कोरोना संक्रमणका कारण विगत ४ महिनादेखि समस्या झेल्दै आएको दैलेख अहिले कोरोना मुक्त हुने अभियानमा छ । रेड जोनबाट ग्रिन जोनतर्फ दैलेख प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
कोरोना विपद् व्यवस्थापन समिति दैलेख, जिल्ला स्वास्थ्य कार्यालय दैलेख, सुरक्षा निकाय, स्थानीय पालिकाहरु, नागरिक समाज र नागरिकहरुले देखाएको सर्तकताका कारण दैलेख कोरोना मुक्त तर्फ अग्रसर हुँदै गरेको प्रमुख जिल्ला अधिकारी युवरा कट्टेलले जानकारी दिएका छन् । दैलेखमै पिसिआर मेसिन आउने बित्तिकै जनताको आत्मबल यसरी बढ्यो कि कोरोना लागे अव एकैछिनमा रिपोर्ट आईहाल्छ सुरक्षित हुन पाईहालिन्छ भन्ने उच्च मनोबलले पनि कोरोना जित्न महत्वपूर्ण भूमिका निर्वाह ग¥यो, सर्तकता अँझै जरुरी छ कट्टेलले भने ।
रोकथामका दुई तरिका
सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमणको दर दैलेखमा पुन ः तीव्र बन्दै गएको थियो । कोरोना विपद् रोकथाम तथा व्यवस्थापन समिति दैलेखले जिल्लामा पिसिआर मेसिन जडान भएसँगै, करिब एक महिना अघिदेखि दुईवटा तरिका अपनाउँदै परीक्षण सुरु गरेको थियो । जिल्लामा पिसिआर मेसिन नहुँदा रिपोर्ट कुर्न महिनादिन लाग्ने समस्या तत्काल समाधान भएसँगै परीक्षणको दायरा बढाउँदै जनताले पनि सुरक्षा सतर्कता अपनाएपछि अहिले दैलेख कोरोना मुक्त बन्ने तरखरमा रहेको छ ।
पहिलो समुदायमा कोरोना छ या छैन भनेर परीक्षण सुरु भएको थियो भने कोरोना संक्रमण देखिएका व्यक्ति, परिवार, नजिकका आफन्तहरु कतिलाई संक्रमण छ भनेर कनट्र्याक्ट ट्रेसिगंको काम सुरु भएको थियो । समुदायमा कोरोना भए नभएको पत्ता लगाउन नगरपालिकामा ९० र गाउँपालिकामा ८० जनाका दरले परीक्षण गरिएको थियो । पहिलो चरणमा गरिएको यो कार्यमा जिल्लाभरका ७ सय १९ जनाको परीक्षण गरिएको मध्ये ७६ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैलाई उपचारका लागि आईसुलेसनमा राखिए लगत्तै । ७६ जनाका आफन्त र उनीहरूको कनट्र्याक्ट टे«सिंग सँगै भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरु, उनका नजिकका आफन्तहरु, अन्य संक्रमित भएर सन्चो भैसकेका आफन्तहरुको खोजवीन गर्दै ५ सय २९ जनाको कनट्र्याक्ट ट्रेसिगंका आधारमा परीक्षण गरिएको थियो । दोस्रो चरणमा गरिएको ५ सय २९ जनामध्ये ५ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ जनामा मात्र संक्रमण देखिएपछि दैलेख बिस्तारै कोरोना संक्रमण मुक्त जिल्ला बन्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताएका छन् ।
दैलेखको पिसिआर ल्याबमा गरिएको पछिल्लो परीक्षणले पनि संक्रमणको जोखिममा रहेको ठाँटीकाँध, महावु, आठवीस र नारायण नगरपालिका भित्र गरिएको परीक्षणको नतिजा अधिकांशको नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । बुधवार दैलेखको ल्याबबाट गरिएको परीक्षणमा ठाँटीकाँधका १ सय ३ जना, आठविसका १ सय ३ जना, दुल्लूका ७४ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । दैलेखको आईसुलेसन अस्पताल र पालिकामा उपचार गराईरहेका २४ जना कोरोना संक्रमितहरु निको भएर घर गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् । जिल्लाभर ९ सय ३२ जना संक्रमित मध्ये ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् भने ९६ जना मात्र कोरोना संक्रमितहरु उपचारमा छन् ।
प्रहरीको सक्रियता कायमैः
लकडाउन खुलेसँगै अहिले दैलेखमा यातायात सुविधाहरु सहज बनाइएको छ । अटो रिक्सामा सुरक्षा अपनाएर दुई जना मात्रै चढाउने निर्देशन प्रहरीले दिएको छ । सदरमुकाम क्षेत्रहरुमा मानिसहरुको आवतजावत बढ्न थालेपछि दैलेख प्रहरीले हरेक नागरिकलाई अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम राख्न भन्दै प्रचार अभियान तीव्र पारेको प्रहरी प्रमुख हरीबहादुर ओलिले जानकारी दिएका छन् । प्रहरीले मास्क नलगाउने १ सय ६० जनालाई कारबाही गरिसकेको छ ।
छिमेकी जिल्लाबाट अनियन्त्रित सवारी साधन आएपछि दैलेख नाकामा रोक
सरकारले लकडाउन खोलेपनि अतिआवश्यक र निर्माण सामग्रीहरु बाहेक अन्य सवारी साधनहरुलाई भदौं १ गते सम्मका लागि रोक लगाएको भएपनि कर्णाली प्रदेश राजधानी सुर्खेतले धमाधम दैलेख जिल्ला हुँदै कर्णालीका विभिन्न जिल्लाहरुमा जाने सवारी साधनहरु खुल्ला गरेपछि संक्रमण पुनः बढ्ने भन्दै दैलेख जिल्लाले सवारी आवतजावतमा रोक लगाएको छ । बुधवार मात्र १६ वटा सवारीसाधनहरु सुर्खेत फर्काईएको छ । कालिकोट बाट आएका सार्वजनिक सवारी साधनहरुलाई पनि कालिकोट तर्फ फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेखको गुराँसे र कर्णाली राजमार्गबाट कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा सम्मका सवारी साधनहरु संचालन हुने गर्दछन् ।






